काठमाडौं । एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डमा दुई अभ्यास खेल खेल्ने पक्का भएको छ ।
थाइल्याण्डमा १० दिने वैदेशिक प्रशिक्षणको दौरान नेपालले दुई अभ्यास खेल खेल्ने भएको हो । नेपालले स्थानीय क्लब र थाइल्याण्डको यू-२३ टोलीसंग अभ्यास खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले पहिलो अभ्यास खेल अगष्ट ७ मा पुलिस टेरो क्लबसंग बोनयाचिन्दा स्टेडियममा खेल्ने छ । यस्तै नेपालले यू–२३ टोलीसंग अगष्ट १० मा थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ । वैदेशिक प्रशिक्षणको लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड जानेछन् ।
थाइल्याण्ड जाने नेपाली टोलीको घोषणा यसअघि नै भईसकेको छ । मुख्य प्रशिक्षक ग्योतुकी कोजीले थाइल्याण्डको लागि २९ खेलाडीलाई छनोट गरेको छ ।
इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।
नेपालले एसियन गेम्स र साफको लागि विगत ३ महिनाबाट प्रशिक्षण गरिरहेका छन् ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, एलान न्यौपाने, सोजित गुरुङ, बिकेश कुथु
डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, बिराज महर्जन, दिपेन्द्र तामाङ, दिनेश राजबंशि, गौरब बुढाथोकि, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ , रबिन श्रेष्ठ, रोेहित चन्द, सन्तोष तामाङ
मिडफिल्डर : अभिषेक रिजाल, अन्जन बिष्ट, बिशाल राई, हेमन गुरुङ, हेमन्त थामा मगर, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ
स्ट्राइकर : भरत खवास, बिमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन लामा