काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी भुटान परेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ । यस्तै नेपालले डिसेम्बर ४ मा श्रीलंका, डिसेम्बर ६ मा माल्दिभ्स र डिसेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ ।
पाँच राष्ट्र सहभागी हुने पुरुष फुटबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि खेल्नेछ ।
भारतले अन्तिम समयमा पुरुष फुटबलबाट नाम फिर्ता लिएपछि पुन: खेल तालिका निकालिएको हो ।
यस अघि नेपाल समूह 'ए' मा परेको थियो । नेपालको समूहमा बंगलादेश र भुटान रहेको थियो ।
सागको पुरुष फुटबलमा नेपाल साविक विजेता हो । भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो ।
सागको फुटबलमा यू-२३ टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा तीन सिनियर खेलाडी राख्न पाईने छ ।