काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा 'पावर हाउस' को रुपमा चिनिने दुई राष्ट्र भारत र पाकिस्तानले सहभागिता जनाउने छैनन् ।
भारत र पाकिस्तान सहभागिता नहुँदा साग क्रिकेटको पुरुषमा पाँच र महिलामा चार टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।
सागको क्रिकेट प्रतिस्पर्धाबाट भारत र पाकिस्तानले नाम फिर्ता लिएपछि नेपाली क्रिकेटप्रेमी समर्थकहरु भने निराश बनेका छन् । किनकी समर्थकले घरेलु मैदानमा भारत र पाकिस्तानबीचको उत्कृष्ट खेल हेर्ने मौका गुमाएका छन् ।
सागमा दुई ठुला राष्ट्र नआउने भएपछि नेपाललाई भने फाइदा तथा घाटा दुवै भएको छ । दुई राष्ट्र सहभागी नहुँदा नेपाललाई स्वर्ण जित्ने अवसर मिलेको छ भने ठुला टिमसँग खेल्ने मौका गुमाएको छ ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल भारत र पाकिस्तानको सहभागिता नहुँदा नेपाललाई घाटा र फाइदा दुवै भएको बताउँछन् ।
'भारत र पाकिस्तान नआउनुलाई दुई हिसाबमा हेर्न सकिन्छ,' कप्तान मल्लले भने, 'एक पदक जित्न सजिलो हुन्छ भने अर्को पाउने एक्सपोजर गुमाउनु परेको छ ।'
सागमा टेष्ट राष्ट्रले यू-२३ टिम खेलाउने गर्छ । तर, केहि सिनियर खेलाडी टिममा राख्न पाउने गर्छन । एसोसियट राष्ट्रले भने राष्ट्रिय टिम नै खेलाउने नियम रहेको छ ।
त्रिवि क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । पाँच टिम रहेको कारण नेपालले पदक जित्ने सम्भावना बढी रहेको छ ।
पुरुष क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासंग डिसेम्बर ३ मा हुनेछ । यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।
महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री भने भारत र पाकिस्तान नआएकोमा दु:खी बनेको सुनाउँछिन् ।
'टेष्ट राष्ट्रसँग उत्कृष्ट क्रिकेट खेलेर जित्ने विश्वास थियो,' उनले भनिन्, 'उनीहरु (पाकिस्तान र भारत) नआउने भएपछी दु:ख लागेको छ ।’
सागमा महिलातर्फ नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । चार राष्ट्र रहेको कारण महिलातर्फ पनि नेपालले पदक जित्ने सम्भावना बलियो रहेको छ।
पोखरा रंगशालामा हुने महिला क्रिकेटमा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग डिसेम्बर २ मा खेल्ने छ । दोस्रो खेल डिसेम्बर ४ मा बंगलादेशसँग खेल्नेछ । नेपालले डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ ।