अखिल नेपाल फुटबल संघ एन्फाले रेलिगेशनबिनाको लिग आयोजना गर्ने निर्णयमा पुर्नविचार गर्न नसकिने बताएको छ ।
रेलिगेशनबिनाको लिगले फुटबलको मुल मर्मलाई समाप्त पार्ने भन्दै चौतर्फी आलोचना भईरहेको समय एन्फाले साविक निर्णयबाट आफुहरु पछाडी हट्ने नसक्ने बताएको हो ।
एन्फाले संक्रमणकालिन फुटबल अवस्थाको कारण देखाउदै असोजको दोस्रो साताबाट रेलिगेशन विहिन शहीद स्मारक ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । रेलिगेशन नहुने लिगमा १४ टोली सहभागि गराउने एन्फाको तयारी छ ।
फुटबल जानकारहरुले रेलिगेशनबिनाको लिग फुटबलले नेपाली फुटबललाई पछाडी धकेल्ने र विकृती सिर्जना गर्ने भन्दै निर्णय परिवर्तनकलागि एन्फालाई दबाब दिएका थिए ।
तर एन्फाले साविकको निर्णयबाट आफुहरु पछाडी हट्न सक्ने अवस्था नरहेको बताउदै यसबर्षको लिगमा कुनै टोली रेलिगेशनमा नपर्ने प्रष्ट पारेको छ ।
एन्फा प्रवक्ता किरण राईले लिगलाई मर्यादित र अर्थपुर्ण बनाउन एन्फाले आन्तरिक गृहकार्य गरिरहेको बताउदै रेलिगेशन नहुदैमा लिग फुटबलमा कुनै असर नपर्ने दाबी गरे ।
लिगलाई अर्थपुर्ण बनाउन लिग कमिटिले गृहकार्य गरिरहेको बताउदै उनले निर्णयबाट पछि हट्ने कुनै सम्भावना नरहेको खेलपाटीलाई बताए ।
‘कार्यसमितिले गरेको निर्णयबाट पछि हट्ने अवस्था छैन् ।’ उनले भने, ‘बरु लिगलाई कसरी मर्यादित र अर्थपुर्ण बनाउन सकिन्छ भन्ने बिषयमा लिग कमिटिले गृहकार्य गरिरहेको छ ।’
एन्फाले बी डिभिजनबाट बढुवा भएका च्यासल र एनआरटीलाई समावेश गर्दै यस सिजन लिग गर्ने तयारी गरेको छ । लिग सुरु हुन अब दुई महिनामात्र बाँकी रहदाँ खेलाडी अनुबन्धनमा क्लबहरुले खासै चासो देखाएका छैनन् ।