एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फ्रान्सेली डिफेन्डर लुकास डिग्ने इन्ग्लिश क्लब एभर्टनमा आबद्द भएका छन् । लेफ ब्याक डिग्नेसंग एभर्टनले पाँच बर्षको सम्झौता गरेको छ ।
डिफेन्डर डिग्नेलाई एभर्टनले १८ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो । एभर्टनमा अनुबन्ध भएपछि डिग्नेले नयाँ ठाउमा चुनौती भएपनि आफुले क्लबमा उत्कृष्ट खेल्ने बताए ।
'एभर्टनसंग एक ठुलो इतिहास छ । म यहाबाट खेल्न चाहन्छु र जित्न चाहन्छु,' २५ बर्षीय डिग्नेले भनेकाछन्, 'म डराएको छैन, म उत्साहित छु । यो मेरो लागी चुनौती हो तर म विश्वको उत्कृष्ट लिगमा उत्कृष्ट फुटबल खेल्नेछु ।'
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीबाट) सन् २०१६ मा स्पेन आएका डिग्नेले बार्सिलोनाबाट ४६ खेल खेलेका थिए । डिग्नेले पिएसजीबाट लिग वान र बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए ।
फ्रान्सबाट २१ खेल खेलिसकेका डिग्ने रुस विश्वकपमा भने टोलीमा परेका थिएनन् । फ्रान्सले रुस विश्वकप जितेको थियो ।