काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य तथा फास्ट बलर अमृत भट्टराईले पुन: नेपालको जर्सी लगाउने सपना रहेको बताएका छन् ।
करिब पाँच वर्षपछि नेपाली क्रिकेटको घरेलु लिगमा फर्कन लागेका अमृतले खेलपाटीसँग कुरा गर्दै राष्ट्रिय टिमबाट खेल्ने इच्छा अझै नमरेको बताए ।
'आफ्नो देशबाट क्रिकेट खेल्ने इच्छा भएर पुन: नेपालको घरेलु लिगमा फर्कन लागेको हुँ,' अष्ट्रेलियामा बस्दै आएका अमृतले खेलपाटीसँग भने ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन वारिवर्सले अनुबन्धन गरेसंगै अमृत नेपाल आउन लागेका हुन् ।
सोमबार अमृतलाई काठमाडौं गोल्डेनले ५० हजारमा अनुबन्ध गरेको थियो ।
'नेपालमा क्रिकेट नखेलेको ५ वर्षपछि भएपनि मलाई विश्वास गर्नु भयो,' अमृतले भने, 'पीपीएल र काठमाडौं गोल्डेनले गरेको विश्वासलाई म खेर जान दिन्न ।'
नेपालले एक दिवसीय मान्यता पाइसकेको कारण राष्ट्रिय टिममा पर्न भने आफुले धेरै मेहनत गर्नु पर्ने अमृत बताउछन् । उनले पीपीएलमा मात्र नभएर राष्ट्रिय टोलीमा पर्न अन्य घरेलु लिगमा समेत राम्रो गर्न जरुरी रहेको बताउँछन् ।
'कस्को इच्छा हुन्न र आफ्नो देशबाट खेल्ने ? अहिले नेपालमा धेरै क्षमतावान खेलाडी रहेका छन् । त्यसैले धेरै मेहनत गरेर पीपीएल र अन्य लिगमा राम्रो गर्नु पर्छ,' अमृतले भने ।
अमृत पोखरामा अष्ट्रेलियामा क्रिकेट खेलेको अनुभव देखाउन चाहन्छन् । त्यसैले पोखरामा दर्शकले अमृतको नयाँ रुप देख्ने छन् ।
'अष्ट्रेलियामा सिकेको क्रिकेट पोखरामा देखाउने छु,' अमृतले थपे ।
पीपीएलका लागि अमृत डिसेम्बर १० मा नेपाल आउने छन् ।
अमृत अष्ट्रेलियामा पनि क्रिकेटमै व्यस्त रहदै आएका छन् ।
पाँच वर्ष अघि घरेलु लिग खेल्ने क्रममा घुँडाको चोट बोकेपछि अष्ट्रेलिया पुगेका अमृत अष्ट्रेलियामा पनि क्रिकेटमै व्यस्त रहदै आएका छन् ।
अष्ट्रेलियन प्रिमियर लिगको दोस्रो श्रेणीमा अमृतले आफ्नो खेल कौशल देखाईसकेका छन् । अघिल्लो सिजन पर्थबाट खेलेका अमृतले यस सिजन तास्मेनियाबाट 'ए' ग्रेडको क्रिकेट खेल्दै छन् ।
बाँया हाते बलर अमृतले अन्तिम पटक नेपालबाट सन् २०१४ मा भएको हङकङविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका थिए ।
नेपालबाट अमृतले हालसम्म सात टी-ट्वान्टीमा ३ विकेट हात पार्दा एक टी-ट्वान्टी अन्तराष्ट्रियमा १ विकेट हात पारेका छन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकपमा ऐतिहासिक सहभागिता जनाउँदा अमृत नेपाली टोलीमा रहेका थिए । विश्वकपमा उनले डेब्यु गर्ने मौका भने पाएनन् ।
यस्तै सन् २००६ को यू-१९ विश्वकपमा नेपाल प्लेट च्याम्पियन बन्दा अमृत टिमको महत्वपूर्ण सदस्य थिए l अमृतले प्लेट च्याम्पियनको फाइनलमा न्युजिल्याण्डका मार्टिन गुप्टिलसहित २ विकेट लिएका थिए l