एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा दुई इन्ग्लिश क्लबको भिडन्तमा आर्सनलले बाजी मारेको छ । बुधबार राति भएको खेलमा आर्सनलले अर्को इन्ग्लिश क्लब चेल्सीलाई सडन डेथमा ६–५ गोल अन्तरले हराएको हो ।
आयरल्याण्डमा भएको खेलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा आर्सनलका गोलकिपर पिटर चेक नायक बने । चेकले चेल्सीका रुबेन लोफ्टुसको प्रहार बचाऊदै आर्सनललाई जित दिलाए । यसअघि चेल्सीका पुर्व गोलकिपर समेत रहेका चेकले पहिलो हाफमा चेल्सीको एक पेनाल्टी बचाएका थिए । खेलको १४ औं मिनेटमा अल्भारो मोरटाको प्रहार चेकले बचाएका थिए ।
पेनाल्टी सुटआउट अघि डुब्लीनमा खेलको पाँचौ मिनेटमा एन्टोनियो रुडीगरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, चेल्सीको उक्त अग्रता अन्तिम समयमा जोगाउन सकेन । खेलको इन्जुरी समयमा आर्सनलका एलेक्जेन्डर लाकाजेट्सले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
इन्ग्लिश प्रिमियर लिग सुरु हुनुअघि आर्सनल र चेल्सीले मैत्रीपूर्ण खेल खेलेको हो । प्रिमियर लिग अगष्ट ११ बाट सुरु हुँदैछ ।