एजेन्सी । इंग्ल्यान्डले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि दाबी पेस गर्ने भएको छ । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले १२ बर्षपछि हुने विश्वकप आयोजनाको लागि अर्को बर्ष दाबी पेश गर्ने भएको हो ।
एफएले दोस्रो पटक विश्वकप आयोजनाको लागि तयारी सुरु गरिसकेको समेत बिबिसीले जनाएको छ । एफएका अध्यक्ष ग्रेग क्लार्कले विश्वकपको आयोजनाको लागि दाबी पेस गर्न सहमति भईसकेको बताएका छन् ।
क्लार्कले भनेका छन्, 'सन् २०३० को विश्वकप आयोजना गर्न युईएफएबाट सम्भावित उम्मेदवार बन्न गत महिना नै बोर्ड सहमत भईसकेको छ ।'
तर, क्लार्कले विश्वकपको लागि दाबेदारको प्रक्रिया अर्को बर्ष मात्र सुरु हुने जानकारी गराए । 'यो कार्य नयाँ सिजन सुरु हुनेछ र सन् २०१९ सम्म कुनै निर्णय गरिने छैन,' अध्यक्ष क्लार्कले भनेका छन् ।
इंग्ल्यान्डले ठुलो प्रतियोगिताको रुपमा पछिल्लो पटक सन् १९९६ को युरोपियन च्याम्पियन्स आयोजना गरेको थियो । इंग्ल्यान्डले सन् १९६६ मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।
यसअघि इंग्ल्यान्डले रुसमा हालै सम्पन्न विश्वकपको लागि पनि दाबेदार पेस गरेको थियो । तर, फिफाको कंग्रेस बैठकले रुसलाई विश्वकप आयोजनाको जिम्मेवारी दिएको थियो ।
यो विश्वकप लागि दक्षिण अमेरिकी राष्ट्रले पनि दाबी गर्न सक्ने बताईएको छ । यो संस्करणको लागि उरुग्वे, अर्जेन्टिना र पराग्वेले संगुक्त आयोजनाको लागि दाबी गर्नेछ ।
त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।