काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।
आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए ।
'सन्दीपले साग खेल्ने छैनन् । उनको आँखाको अप्रेसन आज भएको छ,' सिवाकोटीले खेलपाटीसँग भने, 'टिमसँग सल्लाह गरेर नै शल्यक्रिया गरिएको हो ।'
पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।
सन्दीपको शल्यक्रिया ठिक हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए ।
सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।
सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।
टियु क्रिकेट मैदानमा हुने सागमा नेपालले श्रीलंकासँग डिसेम्बर ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।
सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।
भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू-२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।