एजेन्सी । पाहुना टिम इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा न्युजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको छ ।
माउन्ट माउन्गानुइमा टेष्टको चौंथो दिन सोमबार इंग्ल्याण्ड दोस्रो इनिङ्समा १९७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्सको जित निकालेको हो ।
पहिलो इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्न नसकेको इंग्ल्याण्ड दोस्रो इनिङ्समा पनि न्युजिल्याण्डका बलरसामु निरह बन्यो । इंग्ल्याण्डका लागि जोय डेन्लीले ३५, रोरी बुर्न्सले ३१ तथा बेन स्टोक्सले २८ रन बनाए । न्युजिल्याण्डका नील वाग्नर र मिचेल स्टानरले ३/३ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा इंग्ल्याण्डले अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो । पहिलो इनिङ्समा बेन स्टोक्सले ९१, जोय डेन्लीले ७४ तथा रोरी बुर्न्सले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
न्युजिल्याण्डले भने पहिलो इनिङ्समा ६ सय १५ रनको फराकिलो योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि बिजे वाटलिङले २ सय ५ रनको दोहोरो शतकीय इनिङ्स खेलेका थिए । यस्तै मिचेल स्टानरले १ सय २६ रनको शतकीय इनिङ्स खेले । इंग्ल्याण्डका साम करनले ३ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको दुई खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।