काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका स्ट्राइकर विमल घर्ति मगरसहित तीन खेलाडीले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि अनुशासनको कारबाहीमा परेका विमलसहित मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशीले साग नखेल्ने पक्का भएको हो ।
साग टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग छलफल गर्दै एन्फाले उनीहरुलाई टिम बाहिर राख्ने निर्णय गरेको बताए ।
'राखेपका पदाधिकारीसँग छलफल गरेर हामीले नयाँ खेलाडी ल्याएका छौँ,' प्रशिक्षक महर्जनले खेलपाटीसँग भने, 'अनुशासनको कारबाहीमा परेका खेलाडीले साग खेल्ने छैनन् ।'
प्रशिक्षक महर्जनले उनीहरुको स्थानमा तीन नयाँ खेलाडी टिममा राखिएको समेत बताए । टिममा प्रिजेन तामाङ, राजिब लोप्चन र राजेश परियार बोलाईएको प्रशिक्षक महर्जनले बताए ।
कुवेतसँगको खेलका लागि भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लब गएपछि एन्फाले टिममा रहेका चार खेलाडीलाई कारबाही गर्दै टिमबाट हटाएको थियो । जसमध्ये मिडफिल्डर सन्तोष तामाङ भने साग खेल्ने टिममा छैनन् ।
तीनै खेलाडी भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जित्दा टिममा रहेका थिए ।