एजेन्सी । पाकिस्तानको यू-२३ टिमले बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशको यू-२३ टिमलाई ७७ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।
पाकिस्तानले दिएको ३ सय २ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४३ ओभर ३ बलमा २ सय २४ रन जोड्दा अलआउट भयो ।
बंगलादेशका आफिफ हसनले सर्वाधिक ४९ रनको इनिङ्स खेले । यस्तै कप्तान नाज्मुलहोसेन सान्तोले ४६, मेहदी हसनले ४२, यासिर अलिले २२, मोहमद नैइमले १६, सौम्य सरकारले १५ रनको योगदान गरे ।
पाकिस्तानका मोहमद हस्नैनले ३ तथा खुस्दिल शाह र सैफ बदरले समान २/२ विकेट हात पारे । यस्तै समीम गुल, अमद बुट र उमेर खानले समान १/१ लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो । उसका रोहैल नजिरले १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै इमरान रफिकले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आउद सखिलेले ४२, खुस्दिलले २७, हेडर अलीले २६ र अमदले १५ रनको योगदान गरे ।
बंगलादेशका सुमो खानले ३ तथा हसन महमुदले २ विकेट हात पारे ।
योसँगै पाकिस्तानले अपराजित रहदै उपाधि जितेको हो । यसअघि पाकिस्तानले सेमिफाइनलमा भारतलाई हराएको थियो ।
समूह चरणमा ओमान, श्रीलंका र अफगानिस्तानलाई हराएको थियो ।