काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा आर्चरीको ईतिहास खासै ठुलो छैन । हुन त आर्चरी राज्यको नजरमै कहिल्यै परेन ।
संघका आफ्नै गुनासा छन् । खेलाडीलाई प्रशिक्षण गर्न राम्रो अभ्यास स्थल छैन । बारम्बार खेल स्थल परिवर्तन गरिरहनु पर्ने बाध्यता छ ।
आर्चरीका सामान महङ्गा हुन्छन् । खेलाडी आफैले महङ्गा सामाग्री किनेर खेल्नुपर्ने बाध्यता छ । राज्यका लागि खेल्ने भन्दा राज्यलाई सहयोग गर्न खेल्नुपर्ने बाध्यता छ ।
एउटै खेल सामाग्रीले धेरै बर्ष प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जसो तसो खेलाडीले खेलेर खेलको शाख बचाएका छन् ।
३२ वर्षे सागको इतिहासमा नेपालले तीनै पटक आर्चारीमा सहभागीता जनाएको छ ।
श्रीलंकाको कोलम्बोमा भएको १० औं सागबाट आर्चरी समावेश भएको थियो । त्यसपछि आर्चरीको सहभागीता निरन्तर छ ।
ईतिहास –
सागको २२ वर्षे यात्रामा सन् २००६ मा आर्चरीलाई समावेश गरियो । श्रीलंकाको कोलम्बोमा भएको पहिलो सहभागीतामा नेपाल पदक विहिन रह्यो । नेपालको सहभागीतामा अनुभवमै सिमित बन्यो ।
सन् २०१० मा बंगलादेशको ढाकामा भएको प्रतियोगिता नेपालले खेल्यो । नेपाल रिकर्भ इभेन्टमा तेस्रो भयो । सहभागीताको दोस्रो बर्षमा टिम इभेन्टमा उसले कास्य पदक हासिल गर्न सफल भएको थियो । प्रेम प्रसाद पुन, रमेश भट्ट, अशिम शेरचन र विर बहादुर ओलमको टिमले आर्चरीमा नेपालका लागि पहिलो पदक दिलाएका थिए ।
अन्तिम पटक भारतको गुहावटी र सिलोङमा भएको १२ औं सागमा पनि आर्चरी सहभागी भयो । नेपाल एक कास्य पदक जितेको थियो । ब्यक्तिगत स्पर्धामा प्रेम प्रसाद पुनले कास्य जितेका थिए ।
नेपालले १८ औं एसियन गेम्समा प्रि–क्वाटरफाइनलसम्म खेलेको थियो ।
तयारी –
नेपालले आर्चरीमा स्वर्ण जित्ने लक्ष्य सहित तयारी गरिरहेको छ । टिम, मिक्स र ब्यक्तिगत स्पर्धाका तीन ईभेन्टका लागि महिला र पुरुष गरि १६ खेलाडीले १० स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा कम्पाउण्ड ५० मिटर र रिकर्भ ७० मिटर रहेको छ ।
टिमको प्रशिक्षकमा संघका अध्यक्ष दिपक गुरुङ, महासचिव रमेश शिवाकोटी र बसन्त थकाली रहेका छन् । प्रशिक्षणकै क्रममा नेपालले बंगलादेशमा भएको प्रतियोगितामा सहभागीता जनाएको थियो ।
प्रतियोगितामा नेपालले एक स्वर्ण, एक रजत र दुई कास्य पदक हात पारेको थियो । पहिलो अन्तराष्ट्रिय खेलमा उत्रिएकी विष्णु माया लिम्बुले नेपाललाई स्वर्ण दिलाएकी थिईन् ।
‘तयारी राम्रो भएको छ । पहिलेको भन्दा धेरै सुधार भएको छ । खेलाडीको मनोबल उच्च छ । ब्यक्तिगत रुपमा खेलाडी सबै राम्रा छन् ।’ टिमका प्रशिक्षक समेत रहेका महासचिव रमेश शिवाकोटीले खेलपाटीसँग भने ।
तीन महिला खेलाडीले बंगलादेशमा भएको प्रतियोगितामा सहभागीता जनाएपनि अन्य खेलाडीले वैदेशिक प्रशिक्षणको अवसर पाएनन् । तर खेलाडीहरु सागमा स्वर्ण जित्ने लक्ष्य सहित तयारी गरिरहेका छन् ।
पदकको सम्भावना –
अन्य संस्करण भन्दा राम्रो तयारी गरेको नेपालले आर्चरीबाट राम्रो नतिजाको अपेक्षा गरेको छ । यसअघि स्वर्ण नजिक पुगेपनि जितबाट बिमुख हुँदै आएको तितो ईतिहास खेलाडीसंग छ । आर्चरीले घरेलु भुमीमै आयोजना हुने प्रतियोगितामा कम्तीमा ४ स्वर्ण पदक जित्ने बताएको छ ।
महिला स्पर्धामा पदकको सम्भावना बढी देखेको उसले पुरुषतर्फ भने कम्पाउण्डमा स्वर्णको आश गरेको छ ।
‘अहिलेनै स्वर्ण पदकको संख्या बताउन सक्दैनौ । चार स्वर्णको लक्ष्य छ । व्यक्तिगत सबै खेलाडी राम्रा छन् । खेल बिग्रिए भन्न सकिन्न । यसपटक स्वर्णको आशा गरेका छौं । पुरुष टिमले कम्पाउण्डमा सम्भावना देखाएको छ । महिलाले पदक ल्याउने सम्भावना धेरै छ । टिम राम्रो छ, तर टिम गेम हो । एउटा बिगार्याे भने सबैको नम्बर बिग्रन्छ ।’ प्रशिक्षक शिवाकोटीले भने ।
साग खेल्ने आर्चरी टिम -
(रिकर्भ महिला)
निता राई
ज्ञानु अवाले
विष्णुमाया लिम्बु
आइसा तामाङ
(रिकर्भ पुरुष)
असिम शेरचन
तिलक पुन मगर
रोशन नगरकोटी
डम्बर थापा
कम्पाउन्ट (महिला)
पार्सदा आचार्य
मोनिका राणामगर
रस्मिता दर्लामी
मञ्जु बजगाई
कम्पाउन्ट (पुरुष)
रमेश भट्टचन
मिन प्रसाद गौचन
जर्नादन मल्ल
योगेन्द्र शेरचन