काठमाडौँ । ७ वर्षपछि उमेर समूहको महिला क्रिकेट टोलीले यू–१९ अन्तराष्ट्रिय प्रतियोगिता खेल्यो । चीनमा गत साता सकिएको ‘बी एण्ड आर’ कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो हुँदै शुक्रबार नेपाल फर्कियो ।
तेस्रो भएर नेपाल फर्किएको टोलीबारे कसैले अत्तोपत्तो पाउन सकेनन् ।
न मिडियालाई जानकारी पाए, न कसैले यसको चर्चा गरे ।
चीनमा भएको प्रतियोगिताको नतिजा पाउन समेत समस्या परेको थियो । खेल सकिएपछि प्रशिक्षक तथा टिम म्यानेजरलाई सामाजिक सञ्जालबाट नतिजा सोध्नुपर्ने बाध्यता थियो ।
चीनमा सामाजिक सञ्जाल चलाउन समस्या भएको कारण सूचना संम्प्रेषणमा समस्या परेको प्रशिक्षक कलम अलीले बताए ।
'मेसेन्जर नचल्दो रहेछ । आयोजकले समेत राती स्कोर कार्ड दिदाँ सूचना पठाउनै समस्या भयो ।’ अलिले भने ।
नेपालले अहिलेसम्म महिला यू–१९ का चार प्रतियोगिता खेलेको छ । जसमा नेपाल ३ पटक उपाधि विजेता भएको छ । चौथो पटकमा भने नेपालले तेस्रो स्थामा चित्त बुझायो ।
यसअघि नेपालले उमेर समूहको एसीसी यू–१९ महिला प्रतियोगितामा ह्याट्रिक गरिसकेको थियो । थाइल्याण्डमा सन् २००८ मा भएको पहिलो एसीसी यू–१९ महिला प्रतियोगितामा नेपाल च्याम्पियन बन्यो । यस्तै सन् २०१० मा पुन नेपालले उपाधि उचाल्न सफल भयो ।
अन्तिम पटक सन् २०१२ मा नेपालले थाईल्याण्डलाई पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।
त्यसयता नेपालले ७ वर्ष सम्म उमेर समूहको क्रिकेट खेल्न पाएन ।
निकै मुस्किलले प्रतियोगिता खेल्न पाएको नेपालले राम्रो नतिजा हात पार्दा समेत खेलाडीले हौसला दिने कोही भएनन् ।
चीनबाट नेपाली टिम स्वदेश फर्कदा मिडिया अनि समर्थकले थाहै पाएनन् ।
स्वागतका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का नेपाल प्रतिनिधि रौनक मल्ल मात्र विमानस्थल पुगेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीनै एयरपोर्टमा पुग्न सकेनन् ।
’राखेपसंग सागको लागि छलफल भएका कारण उहाँहरुले आउन नसक्ने बताउनुभयो ।’ अलिले भने ।
डोली भट्टको कप्तानीमा रहेको नेपाल बी एण्ड आर प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो ।
तर, दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हरायो ।
यस्तै, म्यानमारलाई ३५ रनले हराएको नेपाल अन्तिम खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो ।
अन्तिम बलमा मलेसियालाई १ रन आवश्यक थियो । तर खराब फिल्डिङको कारण नेपाल पराजित हुन पुग्यो । नेपाल प्रतियोगितामा तेस्रो भयो ।
नेपालकी कृतिका मरासिनी ११ विकेट हात पार्दै प्रतियोगिताकी उत्कृष्ट बलर घोषित भइन् ।
प्रतियोगितामा थाइल्याण्ड विजेता र मलेसिया उपविजेता बनेको थियो ।