काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको कर्नाटका टुसकेर्सले लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमबार भएको खेलमा डेकन ग्लाडीयटर्ससँग ५ विकेटले पराजित हुँदै कर्नाटकाले लगातार दोस्रो हार व्यहोरेको हो ।
आबु धाबीमा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्य ग्लाडीयटर्सले ८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
ग्लाडीयटर्सका लागि केइरण पोलार्डले अविजित ४५ रन जोड्दा भानुका राजपाक्षले २७ रन जोडे ।
कर्नाटकाका शापुर जाड्रनले २ विकेट लिए ।
ग्लाडीयटर्सविरुद्ध सन्दीपले २ ओभरमा ३५ रन खर्चिए । तर, विकेट लिन सकेनन् । सन्दीपले पहिलो खेलमा १ र दोस्रो खेलमा २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
कर्नाटकाका लागि जोनसन चार्ल्सले सर्वाधिक ३५ रन बनाए ।
यस्तै कप्तान हसिम अल्मलाले अविजित ३२, एभिन लुइसले २३, रोस व्हाइट्लीले १३ रन बनाए ।
ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान १/१ विकेट हात पारे ।
यो हारसँगै समूह 'ए' को कर्नाटकाले ३ खेलमा २ अंक जोडेको छ । आइतबार कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको थियो ।