काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछा सम्मिलित कर्नाटका टुसकेर्सले डेकन ग्लाडीयटर्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आबु धाबीमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय १० रन बनायो ।
कर्नाटकाका लागि जोनसन चार्ल्सले सर्वाधिक ३५ रन बनाए ।
यस्तै कप्तान हसिम अल्मलाले अविजित ३२, एभिन लुइसले २३, रोस व्हाइट्लीले १३ रन बनाए ।
ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान १/१ विकेट हात पारे ।
दुई खेलमा १ जित र १ हार व्यहोरेको कर्नाटका २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै २ अंक जोडेको ग्लाडीयटर्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अघिल्लो चरण प्रवेशका लागि दुवै टिमलाई जित आवश्यक रहेको छ ।