काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-ट्वान्टी क्रिकेटको खेलाडी वरियता अन्तर्गत अलराउण्डरतर्फ नेपालका सोमपाल कामी र करण केसीको वरियता बढेको छ ।
आईसीसीले अपडेट गरेको अलराउण्डरको नयाँ वरियतामा सोमपाल र करणको वरियता बढेको हो । नयाँ वरियतामा सोमपाल ७ स्थान उक्लिँदै ६० औं स्थानमा पुगेका छन् । करण ८४ औं स्थानमा उक्लिएका छन् । यस अघि सोमपाल ६७ औं र करण ८८ औं स्थानमा रहेका थिए ।
यस्तै बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछानेको वरियता घटेको छ ।
नयाँ वरियतामा सन्दीप ९ स्थान तल झर्दै ७८ औं स्थानमा पुगेका छन् । अघिल्लो पटक सन्दीप ६९ औं स्थानमा रहेका थिए ।
सोमपाल कामी ९५ औं स्थानमा झरेका छन् । यसअघि सोमपाल ८५ औं स्थानमा रहेका थिए ।
बलिङतर्फ करण शीर्ष १०० बाट बाहिरिएका छन् ।
ब्याटिङतर्फ पारस खड्का यथावत रहेका छन् । पारस ५५ औं स्थानमा छन् । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।
पारसको अलराउण्डर वरियता भने घटेको छ । अलराउण्डरमा पारस ३३ औं स्थानमा झरेका छन् । यस अघि पारस ३२ औं स्थानमा रहेका थिए ।