काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सात खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा निर्वतमान कप्तान पारस खड्कासहित ७ खेलाडी ड्राफ्टमा अटाएका छन् ।
ड्राफ्टमा पारससहित आरिफ शेख, विनोद भण्डारी,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,सोमपाल कामी र शरद भेषवाकर रहेका छन् ।
पीएसएलको ड्राफ्टमा परेका सबै खेलाडी सिल्भर श्रेणीमा परेका हुन् ।
सिल्भरमा परेका खेलाडीको न्युनतम मुल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार डलर रहेको छ ।
योसँगै पीएसएलको ड्राफ्टमा नेपालका आठ खेलाडी अटाएका छन् । पीएसएलको ड्राफ्टमा पहिलो पटक आठ खेलाडी परेका हुन् ।
यस अघि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने 'प्लाटिनम' श्रेणीको ड्राफ्टमा परेका थिए ।
प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ ।
ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।