काठमाडौं । सागमा सुरुमा २५ खेल समावेश हुने भनिएको थियो । तर, आयोजकको हैसियतमा नेपालले दुई खेल थप्यो, क्रिकेट र प्याराग्लाइडिङ ।
कारण क्रिकेट नेपालमा लोकप्रियताको शिखरमा छ । अन्तराष्ट्रिय क्रिकेटमा पुरुष टिमले नतिजा समेत ल्याईरहेको छ । सोही चर्चा र सम्भावनालाई समाउँदै नेपालले सागमा क्रिकेटको प्रस्ताव गरेको हो ।
सागको ईतिहासमा यसअघि एक पटकमात्र क्रिकेट समावेश भएको छ । त्यो पनि पुरुष क्रिकेटमात्र ।
तर, नेपालले पुरुष र महिला क्रिकेटलाई आसन्न सागमा समावेश गरेको छ ।
खास गरि क्रिकेट गतिविधि शुन्य बन्दा निराश बनेको महिला क्रिकेटर सागमा खेल्न पाउने भएपछि साह्रै उत्साहित बनेका छन् । सोही कारण पदक जित्ने लक्ष्य सहित उनीहरु तयारी गरिरहेका छन् । उनीहरु कम्तिमा पहिलो सहभागितामा पदक जित्न चाहन्छन् ।
महिला क्रिकेट पोखरामा संञ्चालन हुनेछ । सो क्रिकेटमा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
इतिहास :
सागमा महिला क्रिकेटले पहिलो पटक आयोजना हुन लागेको हो । यसअघि पुरुष क्रिकेटले सन् २०१० मा बंगलादेशमा भएको साग खेलेको थियो । तर १३ औं संस्करणमा महिला क्रिकेट समेत सहभागी गराउन लागिएको हो ।
तयारी :
करिब ३ महिना अघि देखि नेपालले सागमा स्वर्ण पदक ल्याउने लक्ष्य सहित त्रिवि मैदानमा अभ्यास गरिरहेको छ । यसबीचमा नेपाली महिला टिमका अधिकांश सदस्यले पहिलो महिला फ्रेन्चाईज लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) खेल्ने मौका पाए । सो प्रतियोगिताले सागको तयारीमा राम्रो सहयोग पुगेको खेलाडीहरु बताउँछन् । ३५ खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षण सुरु भएको थियो ।
अन्तिममा रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।
'सबैले एकदम मेहनत गरेका छौँ,’ कप्तान रुबिना क्षेत्री भन्छिन्, 'मेहनत गर्न कुनै कसुर बाँकी राखेका छैनौं । धेरै ठुलो कुरा नगरौं, तर हाम्रो मेहनतको पक्षमा नतिजा पक्कै आउँछ ।'
बलियो पक्ष :
घरेलु दर्शकको अगाडी घरेलु मैदानको सहजता खेलाडीलाई हुनेछ । यसको अधिकतम फाइदा उठाउने प्रयास महिला क्रिकेटरले गर्नेछन् ।
घरेलु दर्शकसामु टेष्ट राष्ट्रसंग खेल्न लागेको महिला क्रिकेटरले कडा मेहनत र तयारी गरेका छन् । 'टेष्ट राष्ट्रसंग घरेलु मैदानमा समर्थकलाई निरास नबनाउन सानो भन्दा सानो कुरालाई समेत ध्यान दिंदै छौं,’ रुबिनाले थपिन्, ’मेहनतलाई विश्वास गर्दा पदक आउँदैन भन्न सकिन्न ।’
चुनौती :
नेपालको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशले कडा चुनौती दिनेछन् । अर्का टेष्ट राष्ट्र भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् ।
सम्भावना :
सागमा नेपालको मुख्य चुनौती भारत र पाकिस्तान रहेको थियो । तर कारण वस यी दुवै टोलीले साग क्रिकेटमा सहभागिता नजनाउने भएपछी नेपाललाई स्वर्ण पदकको दाबेदारको रुपमा लिन सकिन्छ । यद्दपी नेपाली प्रशिक्षक तथा कप्तानले भारत र पाकिस्तानलाई समेत हराउँदै एतिहासिक सफलता हात पार्नेमा विश्वस्त रहेका थिए ।
साथै रुबिना भने भारत र पाकिस्तान सहभागी नहुने भएपछी टीमलाई दु:ख लागेको बताईन् । 'टेष्ट राष्ट्रसंग वेस्ट क्रिकेट खेलेर जित्ने विश्वास थियो,' उनले भनिन्, 'उनीहरु (पाकिस्तान र भारत) नआउने भएपछी दु:ख लागेको छ ।’
यस्तै अर्का टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकालाई निगरानीमा राखेको बताईन् ।
'टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले हाम्रो जस्तै क्रिकेट खेल्ने गर्छन् ,’ रुबिना भन्छिन्, ’उनीहरुले गरेको तयारी तथा हरेक खेल नियाल्दै आएका छौं ।’
नेपाली महिला टिमले हालसम्म कुनै पनि अन्तराष्ट्रिय उपाधि उचाल्न सकेको छैन । त्यसैले यस पटक एतिहासिक सहभागिता त्यसमा पनि घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको अन्तराष्ट्रिय क्रिकेटमा महिला टोलीले स्वर्ण जित्ने लक्ष्य सहित तयार हुँदै छन् ।
साग खेल्ने नेपाली महिला टिम :
रुबिना क्षेत्री
सिता राना मगर
इन्दु बर्मा
काजल श्रेष्ठ
करुणा भण्डारी
अप्सरी बेगम
सोनु खड्का
सरस्वती चौधरी
ममता चौधरी
अन्जली चन्द
सरिता मगर
शान्ति खतिवडा
रोमा थापा
डली भट्ट
कविता कुवर
वैकल्पिक खेलाडी :
ज्योति पाण्डे
संगीता राई
अस्मिना कर्माचार्य
https://youtu.be/dsx0gQkdSNE