काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणकाे अन्तिम खेलमा नेपालले बंगलादेशलाई जितका लागि १ सय ३९ रनको लक्ष्य दिएको छ ।
बंगलादेशले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङमा उत्रिएकाे नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनायो ।
नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलाे प्रर्दशन गर्न सकेनन् । पुछारबाट ब्याटिङ गर्न आएका उनले ४ चौकाकाे मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए ।
खराब सुरुवात गरेको नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल न्युन स्काेर हुनबाट जाेगिएकाे हाे ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्राे सुरुवात दिलाएका थिए । भुर्तेल १० रनमा आउट भए ।
त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दाेस्राे विकेट गुमायो ।
अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पाेविलियन फर्किए ।
यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३/३ विकेट हात पारे ।
यस्तै तन्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।
अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।
समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन् ।