एजेन्सी । वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अफगानिस्तानले जितेको छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
लखनउमा अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य पछयाएको वेष्ट इण्डिज २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रनमा समेटियो ।
वेष्ट इण्डिजका लागि साई होपले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा इभिन लेविसले २४ रन बनाए । अफगानिस्तानका नबिन उल हकले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अफगानिस्तानका लागि रहमानउल्लाह गुर्बाजले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । अस्घर अफगानले २४ तथा मोहमद नाबीले १५ रन जोडे ।
वेष्ट इण्डिजका सेल्ड्रोन कोट्रेल, केस्रिक विलियम्स र किमो पाउलले २/२ विकेट लिए ।
योसँगै अफगानिस्तानले टी-ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध पहिलो पटक सिरिज जितेको छ ।
यस अघि पहिलो टी-ट्वान्टीमा वेष्ट इण्डिजले ३० रनको जित निकालेको थियो । तर, दोस्रो खेलमा ४१ रनको जित निकाल्दै अफगानिस्तानले सिरिज १-१ को बराबरी गरेको थियो ।