काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्स पराजित भएको छ ।
आइतबार भएको दोस्रो खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो ।
शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
बंगलाको जितमा आन्द्रे फ्लेट्चरले ४० रन जोड्दा टम मोरेसले अविजित २८ रन बनाए । यस्तै रिले रोस्सोले २२ रन बनाउदा रोबीले १३ रन जोडे ।
कर्नाटकाका सन्दीपले २ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् । ९ रन खर्चिएका सन्दीपले एक रन आउट समेत गरे । पहिलो खेलमा सन्दीपले १ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा १ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
कर्नाटकाका लागि जोनसन चार्ल्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान हसिम अमलाले अविजित ४७ रन बनाए ।
समूह 'ए' रहेको कर्नाटका २ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
बंगलाको यो पहिलो जित हो । बंगला २ खेलमा २ अंक नै जोडेर शीर्ष स्थानमा रहेको छ ।