एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमाले बार्सिलोनालाई पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा रोमाले स्पेनिस च्याम्पियन बार्सिलोनालाई ४ – २ गोल अन्तरले हराएको हो ।
अमेरिकामा भएको खेलमा बार्सिलोनाले बनाएको दुई पटकको सुरुवाती अग्रता उल्टाएर रोमाले जित निकालेको हो । रोमालाई जित दिलाउन स्टेफेन एल शारवे, एलेसान्ड्रो फ्लोरेन्जी, ब्रायन क्रिष्टान्टे र डिएगो पेरोट्टीले एक एक गोल गरे । बार्सिलोनामा राफिन्हा र माल्कोमले एक एक गोल गरे ।
डालसमा भएको खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले बनाएको थियो । खेलको सातौं ,मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, खेलको ३५ औं मिनेटमा रोमाका स्टेफेनले गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा पुनः बार्सिलोनाले अग्रता बनायो । खेलको ५० औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई २ – १ को अग्रता दिलाए । यसै सिजन बार्सिलोना आएका माल्कोमको यो क्लबका लागि पहिलो गोल हो । तर, खेलको ७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए ।
खेलको अन्तिम १० मिनेट बाँकी रहदा रोमाका ब्रायन र डिएगो चम्किए । खेलको ८३ औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई ३ – २ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमालाई ४ – २ को शानदार जित दिलाए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि तयारी गर्न दुवै टोली अमेरिका भ्रमणमा रहेका छन् ।