काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतको 'सी' टिमसँग फराकिलो अन्तरले पराजित भएको छ ।
हैदरवादमा आइतबार भएको खेलमा नेपाल भारत 'सी' सँग १ सय ५५ रनले पराजित भएको हो ।
भारतले दिएको २ सय ५९ रनको लक्ष्य पछयाएको नेपाल ३२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो ।
नेपालका लागि खडक बहादुर बोहरा र कुशल मल्लले समान २६/२६ रन जोडे । यस्तै तृत राज दासले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
भारतका सुभाङ समर्थले ३ विकेट लिए । यस्तै रबी रोशन, रन्जन पाउल र विद्याधर पाटिलले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।
भारतका लागि सौरभ कुमार डागरले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विक्रान्त सिंहले ५० रनको योगदान दिए ।
यस्तै सुभाङ समर्थले अविजित ३४ तथा आर्य सेठीले ३१ रन बनाए । कुमार कुसग्राले २७ रन जोडे ।
नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।
यो हारसँगै नेपाल जित विहीन बन्दै घर फर्किएको छ ।
यस अघि पहिलो खेलमा नेपाल 'सी' टिमसँगै १० विकेटले पराजित भएको थियो ।
यस्तै भारतको 'ए' सँग १ सय ७ रन र 'बी' टिमसँग २ विकेटले पराजित भएको थियो ।