काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगको दोस्रो खेलमा आज (आइतबार) बंगला टाइगर्ससँग खेल्दै छ ।
युएईको आबु धाबीमा हुने सन्दीपको टिम कर्नाटका र बंगलाबीचको खेल नेपाली समय अनुसार राति ७:३० बजे सुरु हुनेछ ।
बंगलाविरुद्ध मैदान उत्रदा कर्नाटका लगातार दोस्रो जितको खोजीमा हुनेछ । कर्नाटकाले पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले हराएको थियो ।
समूह 'ए' मा रहेको कर्नाटका १ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । बंगलाले अंक जोड्न सकेको छैन ।
कर्नाटकाविरुद्ध बंगला पनि पहिलो अंकको खोजीमा हुनेछ ।
बंगलाविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा खेलाउने सम्भावना बलियो रहेको छ । सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए ।