काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि नेपालले अहिले भारतको 'सी' टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
हैदरवादमा भारत 'सी' टिमले नेपाललाई जितका लागि २ सय ५९ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनायो ।
भारतका लागि सौरभ कुमार डागरले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विक्रान्त सिंहले ५० रनको योगदान दिए ।
यस्तै सुभाङ समर्थले अविजित ३४ तथा आर्य सेठीले ३१ रन बनाए । कुमार कुसग्राले २७ रन जोडे ।
नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।
आज नेपाल जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न चाहन्छ ।
समूह चरणका तीनै खेलमा पराजित नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।
यस अघि पहिलो खेलमा नेपाल 'सी' टिमसँग १० विकेटले पराजित भएको थियो ।
यस्तै भारतको 'ए' सँग १ सय ७ रन र 'बी' टिमसँग २ विकेटले पराजित भएको थियो ।