काठमाडौं । बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसंग खेल्ने भएको छ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा पाकिस्तानलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र पाकिस्तानबीचको खेल सेप्टेम्बर ४ मा ढाकास्थित बंगबंधु नेसनल स्टेडियममा हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ ।
सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह 'बी' मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।
च्याम्पियनसिपको लागि नेपालले तयारी सुरु गरिसकेको छ । नेपाल हाल बन्द प्रशिक्षणमा रहेका छन् ।
साफ च्याम्पियनसिपको अघिल्लो संस्करण भारतमा भएको थियो । र, भारतले अफगानिस्तानलाई फाइनलमा २–१ गोल अन्तरले हराएर उपाधि जितेको थियो ।