एजेन्सी । वेष्ट इण्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।
शनिबार राति भएको खेलमा अफगानिस्तानले वेष्ट इण्डिजलाई ४१ रनले हराएको हो ।
यो जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । बिहिबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ३० रनले हराएको थियो ।
लखनउमा अफगानीस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।
वेष्ट इण्डिजका दिनेश रामदिनले अविजित २४ तथा इभिन लेविसले १४ रन बनाए । जासन होल्डरले १३ रन जोड्दा ब्राण्डन किङले १२ रन जोडे ।
वेष्ट इण्डिजलाई कम स्कोरमा रोक्न करिम जनतले ११ रन खर्चेर ५ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । अफगानिस्तानका लागि हजरातउलाल्ह जाजई र करिम जनतले समान २६/२६ रन जोडे ।
गुल्बदीन नाइबले २४ तथा नाजिबउल्लाह जाड्रानले अविजित २० रन बनाए । वेष्ट इण्डिजका केस्रिक विलियम्सले ३ विकेट लिए । यस्तै किमो पाउल र जेसन होल्डरले २/२ विकेट लिए ।