एजेन्सी । पाहुना टिम बंगलादेशविरुद्धको पहिलो टेष्टमा भारतले सहज जित निकालेको छ ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेष्टमा भारतले शनिबार बंगलादेशलाई एक इनिङ १ सय ३० रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । उसका मुस्फिकर रहिमले ४३ तथा कप्तान मोमिनुल हकले ३७ रन जोडे । भारतका मोहमद शामीले ३ विकेट लिए ।
पहिलो इनिङ्समा बंगलादेशलाई सस्तैमा समेट्न सफल भारतले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ४ सय ९३ रन बनाएको थियो । भारतका लागि मायाँक अग्रवालले २ सय ४३ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यस्तै अजिन्का रहानेले ८६, रबिन्द्र जडेजाले ६० तथा चेतेश्वर पुजाराले ५४ रन बनाए । बंगलादेशका अबु जायदले ४ विकेट लिए ।
पहिलो इनिङ्समै फराकिलो अन्तरले पछि परेको बंगलादेशले दोस्रो इनिङ्समा पनि उत्कृष्ट खेल्न सकेन र एक इनिङ १ सय ३० रनको हार व्यहोर्यो । दोस्रो इनिङ्समा बंगलादेश २ सय १३ रन जोड्दा अलआउट भयो ।
बंगलादेशका मुस्फिकुर रहिमले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । भारतका मोहमद शामीले ४ तथा रविचन्द्र आश्विनले ३ विकेट लिए ।
यो जितसँगै भारतले टेष्ट च्याम्पियनसिपको ६ खेलमा ६ जित निकालेको छ । ३०० अंक जोडेको भारत शीर्ष स्थानमा छ । अंक जोड्न नसकेको बंगलादेश पुछारबाट दोस्रो स्थानमा छ ।