काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ ।
ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो ।
हङकङविरुद्ध खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो ।
तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । शरदले ८९ रन बनाए ।
शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए ।
शरदले चौंथो विकेटका लागि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए ।
यस्तै विनोद भण्डारीले १५ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २/२ ट लिए ।
आज दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै हङकङलाई आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशले ९ विकेटले हराएको थियो ।
नेपाली टिममा एक खेलाडी परिवर्तन भएका छन् । सोमपाल कामीले हङकङविरुद्धको खेल गुमाउने छन् ।
हङकङविरुद्ध सोमपालको स्थानमा अविनास बोहराले खेल्नेछन् ।