काठमाडौं । नेपालले आज (बुधबार) एकदिवसीय क्रिकेटमा ऐतिहासिक खेल खेल्दै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले आज पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो ।
नेपालले आज घरेलु टोली नेदरल्याण्डविरुद्ध मैदान उत्रदै एकदिवसीय क्रिकेटमा डेब्यु गर्नेछ । घरेलु टोलीसंगको ऐतिहासिक एकदिवसीय सिरिज खेल्न नेपाली टोली नेदरल्याण्ड पुगिसकेको छ । नेपालले घरेलु टोलीसंग शुक्रबार दोस्रो खेल खेल्नेछ ।
एमस्ट्राडममा हुने नेपाल र नेदरल्याण्डबीचको पहिलो खेल नेपाली समय अनुसार २:४५ मा सुरु हुनेछ । उक्त खेल कान्तिपुर टेलिभिजनबाट नेपालमा लाइभ हेर्न सकिनेछ । यस्तै यो खेल अनलाइनबाट पनि लाइभ हेर्न सकिने छ ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।
छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।
नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ माएसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।
नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।
घरेलु टोली नेदरल्याण्डविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य डेब्यु खेल अविस्मरणीय बनाउने हुनेछ । जसको लागि नेपाली टोली जितको खोजीमा हुनेछ । चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्याण्डविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने हुनेछ ।
नेदरल्याण्डविरुद्ध खेल्नु अघि नेपालले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेलेको छ । यस्तै नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बीच त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज समेत खेलेको थियो । तर, वर्षाका कारण सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल भने रद्द भएको थियो ।
हेड टु हेड :
नेपाल र नेदरल्याण्ड नौलो प्रतिद्वन्द्वी हैन । दुवै राष्ट्रले एक अर्काविरुद्ध खेलहरु खेलिसकेका छन् । तर, तथ्यांक हेर्दा नेपालविरुद्ध नेदरल्याण्ड निकै बलियो रहेको छ ।
नेपाल र नेदरल्याण्डले पछिल्लो समय पाँच खेल खेलेको छ । जसमा नेदरल्याण्डले ३ खेल जितेको छ । नेपालले दुई खेल जितेको छ ।
नेपालले पछिल्लोपटक विश्वकप छनोटमा नेदरल्याण्डसंग खेलेको थियो । उक्त खेलमा नेदरल्याण्डले नेपाललाई ४५ रनले हराएको थियो । नेपालले पछिल्लो समय सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डलाई १९ रनले हराएको थियो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नै पहिलो खेलमा भने नेदरल्याण्डले नेपाललाई ७ रनले हराएको थियो । तर, सन् २०१५ को आईसीसी डिभिजन -२ मा भने नेपालले नेदरल्याण्डलाई २ विकेटले हराएको थियो । त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित भएको थियो ।
नेपाली टोली :
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, सुवास खकुरेल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल