काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबी र क्वालान्डर्सबीचको खेल 'टाई' भएको छ ।
युएईको आबु धाबीमा शुक्रबार राति भएको खेल टाई भएपछि आबु धाबी र क्वालान्डर्सले एक एक अंक बाडेका छन् ।
शेख जायद स्टेडियममा आबु धाबीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको क्वालान्डर्सले १० ओभरमा ३ विकेट गुमाएर १ सय ३ रन बनाएपछि खेल टाई भएको हो ।
क्वालान्डर्सका लागि कप्तान डेविड मालनले ३३ रन जोड्दा लुक रोन्चीले अविजित २३ रन बनाए । यस्तै फिल साल्टले २२ रन बनाए ।
आबु धाबीका मर्चान्ट डी लांगेले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।
आबु धाबीका लागि कोरी एण्डरसनले सर्वाधिक ४३ रन बनाए । यस्तै लुक राइटले २०, निरोशन डिक्वेलाले १७ तथा लेविस ग्रेगोरीले ११ रन बनाए ।
डेब्यु खेलाडी पारसले अविजित ३ रन बनाए । क्वालान्डर्सका लाहिरु कुमाराले २ विकेट लिए ।
क्वालान्डर्सविरुद्ध प्लेईङ सेटमा परेसँगै पारसले टी-१० र विदेशी फ्रेन्चाइज लिगमा डेब्यु गर्न सफल भएका थिए ।
यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।