काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई नयाँ उचाई दिन सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी लिनुपर्ने बेला भएको बताएका छन् ।
एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्नु अघि कप्तान पारसले सामाजिक संजाल फेसबुकबाट देशको क्रिकेटको नयाँ उचाईमा सबै जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।
कप्तान पारसले लेखेका छन्, 'अब हामी लक्ष्य उच्च बनाऊ । र, हाम्रो क्रिकेटको नयाँ उचाईको लागि हामी जिम्मेवारी बहन गरौं । केवल यो सुरुवात मात्र हो ।'
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले बुधबार नेदरल्याण्डसंग ऐतिहासिक एकदिवसीय खेल खेल्दै छ । नेपालले घरेलु टोलीविरुद्ध बुधबार पहिलो र शुक्रबार दोस्रो गरी दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
यस्तै कप्तान पारसले बुधबारबाट क्रिकेटको नयाँ यात्रा सुरु गर्न लागेको बताएका छन् । 'हामी भोलिबाट क्रिकेटको नयाँ यात्रामा हुने छौं । क्रिकेट टिमको तर्फबाट सबै खेलाडी, प्रशिक्षक, अफिसिय, व्यवस्थापक र क्रिकेटमा जोडिनु भएका सबैलाई धन्यवाद । यहाँहरुबिना विगत र वर्तमानमा यो सपना सम्भव हुने थिएन् ।'
एसोसियट राष्ट्र बनेको २२ बर्षपछि नेपालले पहिलोपटक एकदिवसीय खेल खेल्न लागेको हो । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।