काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले भारतको 'बी' टिमलाई जितका लागि २ सय ११ रनको लक्ष्य दिएको छ ।
हैदरवादमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनायो ।
नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे ।
यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए ।
भारत भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । सुरुवाती दुई खेलसम्म नेपालले अंक जोड्न सकेको छैन ।
यसअघि दुई खेलमा नेपाल भारतको 'सी' टिमसंग १० विकेट र भारत 'ए' टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।