काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको हो ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको मध्यम लक्ष्य भारतले ४२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा शनबिर सिंह र अर्मान जाफरले अर्धशतकीय इनिङ्स खेले । शनबिरले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा अर्मानले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै बेलुर रभी सरथले ४९ रन जोड्दा आर्यन जुएलले २९ रन बनाए ।
नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको थियो । तर, नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
शरद ४४ तथा कुशल २८ रनमा आउट भए ।
त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा नेपाल सम्मानजक स्कोरमा पुगेको थियो ।
यस्तै दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए । विनोद भण्डारी ५, सोमपाल कामी र आरिफ शेख समान २/२ रनमा आउट हुँदा ललित नारायण राजवंशी सुन्य रनमा आउट भए । शुशन भारी २ रनमा अविजित रहे ।
भारतका सौरभ डुबेले ४ विकेट लिए । यस्तै एस राठोडले ३ तथा पर्थ रेखाडेले २ विकेट लिए ।
प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले अब शनिबार हङकङसँग खेल्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।
आठ टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।