काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
हैदरवादमा बुधबार भएको खेलमा भारतको 'ए' टिमसँग १ सय ७ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भारत 'ए' ले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि विशाल बिक्रम केसीले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपाललाई जित दिलाउन सकेनन् ।
खराब सुरुवात गरेको नेपालले ४९ रन जोड्दा ६ विकेट गुमाएको थियो । तर, विशालले सातौं विकेटका लागि शेर मल्लसँग ५६ रनको साझेदारी गर्दै नेपालको सम्मान जनक स्कोर बनाए । शेरले २१ रन बनाए ।
यस्तै आकाश चन्द १९ रनमा अविजित रहे । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
भारतका लागि नितेश कुमार रेड्डी र समीर हसिनले समान २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत 'ए' ले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
भारतका लागि धुर्ब चन्द जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै साई भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३ र नितेश कुमार रेड्डीले ३० रन बनाए ।
नेपालका शेर मल्लले ३ विकेट लिए । यस्तै आकाश चन्दले २ विकेट लिए ।
यस अघि पहिलो खेलमा नेपालले भारतको 'सी' टिमसँग १० विकेटको हार व्यहोरेको थियो ।
अब नेपालले भारतको 'बी' टिमसँग शुक्रबार खेल्नेछ ।