काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले पहिलो जित निकालेको छ ।
संघाईमा बुधबार भएको खेलमा चीनलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो ।
नेपालकी कविता कुँवरले ११ रन जोडिन । यस्तै लक्ष्मी साउदले ९ तथा राजमती ऐरी र डोली डंगोलले ५/५ रन जोडिन ।
यस अघि पहिले ब्याटिङ गरेको चीनले १० ओभरमा अलआउट हुँदै ३७ रन जोडेको थियो । चीनकी झाओ यूले सर्वाधिक ८ रन जोडिन ।
नेपालका लागि ईश्वरी बिष्टले ३ विकेट लिईन् । उनी प्लेअर अफ दी म्याच चुनिईन् । यस्तै कविता कुँवर र खुशी डंगोलले २/२ विकेट लिईन् ।
यस अघि सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो ।
अब नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । यस्तै शुक्रबार मलेसियासँग खेल्नेछ ।