काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का टी-१० लिग टिम आबु धाबीको प्रशिक्षण सामेल भएका छन् ।
पारस आबु धाबीले मंगलबार गरेको पहिलो दिनको प्रशिक्षणमा सामेल भएका हुन् । पारसले टिमका अन्य खेलाडीसँग प्रशिक्षण गरेका थिए ।
पारस टिममा सामेल हुन सोमबार युएई गएका थिए ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो । पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् ।
पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी रहेका छन् ।
टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।
नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।