काठमाडौं । बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ ।
बंगलादेशको ढाकामा मंगलबार एक कार्यक्रमको बीच ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपालसहित आठ राष्ट्रका कप्तान सहभागी रहेका थिए ।
प्रतियोगिता भने बिहिबारबाट सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगिसकेका छन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । पारस र सन्दीप टी-१० क्रिकेट खेल्न युएईमा रहेका छन् ।
नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह 'ए' मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह 'ए' को खेल कक्स बजार र समूह 'बी' को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।
नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।
तस्बिर - रमण सिवाकोटी