धनगढी । चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि लिटल फ्लावर स्कुल धनगढीले जितेको छ ।
मंगलबार भएको फाइनलमा हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौंलाई ९ विकेटले हराउँदै लिटिल फ्लावर च्याम्पियन बनेको हो ।
योसँगै लिटिल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । उपाधिसँगै लिटल फ्लावरले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता ह्वाइट हाउसले १ लाखमा चित्त बुझायो ।
संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा ह्वाइट हाउसले दिएकोे १ सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहदै १ विकेट गुमाएर पुरा गर्यो ।
लिटल फ्लावरका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे । सुवाशले ५४ बलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिनले ३८ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए ।
सुवाश र विपिनले पहिलो विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी गरे । यस्तै नरेन भट्टले अविजित १२ रन जोडे । ह्वाइट हाउसका विक्रम ठगुन्नाले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा १ सय ३७ रन बनाएको थियो । उसका लागि ओपनरद्धय दिपक वोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए । यस्तै सुमीत श्रेष्ठले २५ रन बनाए । लिटल फ्लावरका लागि दिपक रोकाया र अनुराग सिंहले २/२ विकेट लिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी ह्वाइट हाउसका आरियो पौडेल चुनिए । उनले नगद १५ हजार रुपैयाँ पाए । त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन् । उनीहरुले जनही नगद ५ हजार पाएका छन् ।