काठमाडौं । ९ दिन, ५ टिम, ४ खेल अनि उपाधि ।
ललितपुरमा चलिरहेको उपराष्ट्रपति कप महिला लिगको स्वरुप यस्तो छ ।
लिगको अन्तिम चरणको खेलमा काठमाडौं र पुलिस तथा एपीएफ र आर्मी खेल्दैछन् ।
पछिल्ला ९ दिनमा उनीहरुको यो चौथो खेल हो ।
खेलाडीले ९ दिनमा प्रत्येक खेलपछि एक दिन विश्राम पाएका थिए । सोही चार खेलले प्रतियोगिताको उपाधि छिनोफानो गर्नेछ ।
यही लिग प्रर्दशनका आधारमा अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको छनोट गर्नेछ ।
सोही टोलीले अन्तराष्ट्रिय फुटबलमा नेपाली महिला टिमको प्रतिनिधित्व गर्नेछ । अझ प्रष्ट रुपमा भनौ, साफ खेल्नेछ ।
राष्ट्रिय महिला लिगमा तीन विभागीय र दुई मोफसलका टोली छन् । उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिता जित्दै मोफसलका टोलीले राष्ट्रिय लिगमा स्थान बनाएका हुन् ।
महिला फुटबलको विकासमा एन्फाको योजना ‘झारा टार्ने’ किसिमको छ ।
महिला खेलाडीले न मोफसलमा राम्रा प्रतियोगिता खेल्न पाउछन्, न एन्फाले गतिलो प्रतियोगिताको आयोजना गर्छ ।
निकै मुस्किलले बर्षको एउटा लिग प्रतियोगिता आयोजना हुन्छ, त्योपनि सुरु हुन नपाउदै सकिन्छ ।
महिला लिग हेर्दा, कहिले आयोजना गरौ र सकिहालौ भन्ने भावले प्रतियोगिता आयोजना भएको देखिन्छ ।
मोफसलमा कुनै नकआउट प्रतियोगिता समेत पुरा नहुने समय रेखाभित्र एन्फाले महिला लिग गरेर सकेको छ ।
विभाग र जिल्लाको अन्तर :
अहिले महिला लिग एक प्रकारले विभागीय टिमको प्रतिस्पर्धा हो ।
मोफसलको टोलीको उदेश्य सहभागिता जनाउनु मात्र हो । अझ भनौ, विभागीय टिमबाट कम गोल खानु हो ।
यसै प्रतियोगिता हेरौ न, लिगको दोस्रो दिनको खेलमा विभागीय टिम एपीएफले काठमाडौलाई १०–० गोल अन्तरले हरायो ।
खेलको नतिजाले धेरै कुरा बोल्छ । विभागीय टिम र हाम्रो जिल्ला फुटबलको स्तर ।
जिल्ला र मोफसलको महिला फुटबलप्रति हाम्रो योजना र लगानी ।
एन्फाले जिल्लाका टिमलाई केही ‘फुटकर’ प्रतियोगिता खेलाएर सिधै राष्ट्रिय लिगमा सहभागी गराउछ । अनि प्रत्येक बर्ष मोफसलका टोली गोलको बर्षाले रुझ्दै घर फर्कने गर्छन् ।
मोफसल र जिल्ला टोलीलाई सबल बनाउने एन्फासंग न कुनै योजना छन्, न चिन्ता ।
आर्मीका प्रशिक्षक किशोर राईले अहिले चलिरहेको राष्ट्रिय महिला लिगमा छोटो समयमा धेरै खेल खेलाडीले खेल्न नसक्ने बताउछन् ।
म्याच खेलिसकेपछि खेलाडीले पर्याप्त विश्राम पाउनुपर्ने भन्दै उनले अहिलेको लिग आफैले बुझ्न नसकेको खेलपाटीलाई बताए ।
‘१० दिनमा ४ म्याच खेल्नुपर्छ । २१ जना खेलाडी दिएको छ । प्रशिक्षकले सतप्रतिशतनै खोज्ने हो । खेलाडीले खेल्न नसकेको अवस्था छ,’ उनले भने ।
पुरुष लिग नभएको करिब ३ बर्ष बितिसकेको छ । मोफसलका प्रतियोगिताले एक प्रकारले नेपाली फुटबल धानेको अवस्था छ ।
त्यसमा महिला प्रतियोगिता शुन्य प्राय छ । एन्फाले बर्षमा एक पटक गर्ने साताव्यापी लिगले महिला फुटबल बाँचेको छ ।
राष्ट्रिय महिला टिमका प्रशिक्षक समेत रहेका हरि खड्का महिला प्रतियोगिता सुन्य रहेको अवस्थामा छोटै भएपनि महिला लिग आयोजना हुनु नै उपलब्धि रहेको मान्छन् ।
‘महिला लिग र प्रतियोगिता भईरहेको छैन । यतिको आयोजना हुनु पनि राम्रो हो,' प्रशिक्षक हरिले खेलपाटीसंग भने, ‘सुरुवाति अवस्थामा खेलाडी छनोट गर्न छोटै लिगले भएपनि सजिलो गर्छ ।’