ललितपुर । उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबलको उपाधि छिनोफानो आज हुदैछ । उपाधि प्रतिस्पर्धामा विभागीय टिम एपीएफ र आर्मी छन् ।
दुवै टोलीले लिग चरणमा समान ९ अंक जोडेका छन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् । खेल ललितपुरको एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
एपीएफले पहिलो खेलमा काठमाडौलाई १०–० ले हराएको थियो । दोस्रो खेलमा रौतहटलाई ७–० ले स्तब्ध बनाएको एपीएफले विभागीय डर्बीमा पुलिसलाई समेत २–० ले पराजित गरेको थियो ।
यता, आर्मीले पहिलो खेलमा पुलिसलाई १–०, दोस्रोमा काठमाडौंलाई ८–० र तेस्रो खेलमा रौतहटलाई ३–१ ले हराएको थियो ।
लिग चरणको अन्तिम खेल जित्ने टोलीले उपाधिमाथि कब्जा गर्नेछ ।
आजै हुने लिग चरणको अन्तिम खेलमा पुलिस र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । तालिकामा अंक विहिन दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा छन् । दुवै टोली जित सहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
अंक तालिका यस्तो छ ।
पाँच टोली सहभागि प्रतियोगितामा सबैले ३ खेल खेलिसकेका छन् । एपीएफ ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा आर्मी दोस्रो स्थानमा छ ।
रौतहट ६ अंक सहित तेस्रो स्थानमा छ । अंक विहिन पुलिस चौथो र काठमाडौं पाँचौ स्थानमा छ ।