पोखरा । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी-ट्वान्टी क्रिकेटमा पोखरा-११ लाई पराजित गरेको छ ।
पोखरा रंगशालामा सोमबार एमसीसीले घरेलु टिमलाई ४२ रनले पराजित गरेको हो ।
एमसीसीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सक्यो । पोखराका लागि दिपेश खत्रीले अविजित रहदै ४५ रन बनाए । यस्तै गोविन्द प्रधानले २९ तथा अनिल गुरुङले १६ रन बनाए ।
एमसीसीका विल रोड्स र एड योङले समान २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
एमसीसीका लागि यासिर अराफातले ३९ रन जोड्दा जिमी एडम्सले २९ रन बनाए । पोखराका गोविन्द प्रधान र अनिल गुरुङले ३/३ विकेट लिए ।
अब एमसीसीले मंगलबार मुख्यमन्त्री-११ सँग खेल्ने छ ।