काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको खेलाडी वरियतामा नेपालका निवर्तमान कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ ।
आईसीसीले अपडेट गरेको ब्याटिङको नयाँ वरियतामा पारस घटेर ५५ औं स्थानमा झरेका छन् । यस अघि पारस ब्याटिङतर्फ ४५ औं स्थानमा रहेका छन् । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।
यस्तै पारसको अलराउण्डर वरियता समेत घटेको छ । अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन् । यस अघि पारस २४ औं स्थानमा रहेका थिए ।
अलराउण्डरमा नेपालका अर्का खेलाडी सोमपाल कामी ६७ र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता घटेको हो । यस अघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा रहेका थिए ।
बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् । अघिल्लो पटक सन्दीप ६४ औं स्थानमा रहेका थिए ।
बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण १०० औं स्थानमा रहेका छन् । बलिङमा दुवैको वरियता घटेको हो । यस अघि सोमपालको वरियता ६८ र करणको ८३ रहेको थियो ।
बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष १०० बाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश १०० औं स्थानमा रहेका थिए ।