काठमाडौं । यू-१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको 'भारत सी' टिमसँग १० विकेटले पराजित भएको छ ।
जिमखाना मैदानमा नेपालले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारत सीले २२ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
भारतका लागि अर्जुन अजादले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रनको योगदान गरे ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो ।
नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए । यस्तै शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान २/२ विकेट लिए ।
भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा भारतको भारत 'ए', भारत 'बी' र भारत 'सी' टिम रहेका छन् ।
अब नेपालले दोस्रो खेलमा बुधबार भारत 'ए' र अन्तिम खेलमा शुक्रबार नेपालले भारत 'बी' सँग खेल्नेछ ।