एजेन्सी । इन्ग्लिश क्लब स्टोक सिटीका मिडफिल्डर चार्ली एडमले सनसनीपूर्ण खुलासा गरेका छन् । एडमले इन्ग्लिश फुटबलमा खैनी (सुर्तीजन्य पदार्थ) को प्रयोग बढिरहेको खुलासा गरेका हुन् ।
लिभरपुलका पुर्व मिडफिल्डर समेत रहेका एडमले इन्ग्लिश प्रिमियर लिगका खेलाडीमा खैनी खाने बानी रहेको र यसमा उच्च वृद्धि भईरहेको बताएका छन् ।
बीबीसीसंगको कुराकानीमा एडमले भनेका छन्, 'खेलमा यसको प्रयोग निकै बढेको छ । केवल प्रिमियर लिगमा मात्र हैन, लिग वान, लिग टु, च्याम्पियनसिप र स्कटल्याण्डमा पनि प्रयोग हुँदै आएको छ । उत्तरी युरोपबाट आएका खेलाडीले यो अत्यधिक प्रयोग गर्छन् ।'
खैनी अत्यधिक प्रयोग गर्ने खेलाडीमा लेष्टर सिटीका जेमी भर्डी समेत हुन् । इन्ग्लिश फुटबलर भर्डीले आफ्नो आत्मकथामा समेत यो कुरा उल्लेख गरेका छन् । सन् २०१६ को युरोकप दौरान भर्डीले खैनी बोकिरहेको तस्विर सार्वजनिक भएको थियो ।
एडमले खैनीको प्रयोगले खेलाडीको प्रदर्शनमा सहयोग नगर्ने समेत बताए । यस्तै उनले खेलाडीमात्र नभई प्रशिक्षकमा समेत खैनी खाने बानी रहेको हुनसक्ने बताए । एडमले आफुले खैनी अहिलेसम्म नखाएको र यसको प्रयोग किन हुने गरेको जानकारी नभएको बताए ।
'यो निकै उच्च क्वालिटीको हुन्छ । मैले कहिल्लै प्रयोग गरेको छैन, मलाई थाहा छैन यसमा के हुन्छ,' एडमले भनेका छन्, 'तर, मैले यसको प्रयोग गर्ने देखेको छु । हरेक दिन खाने गर्छन् । अहिले खेलमा यो सामान्य जस्तै छ ।'
इन्ग्लिश फुटबलमा खैनी प्रयोग बढेपछि एफएले खेलाडीलाई पर्ने प्रभावबारे चिन्ता व्यक्त गरिरहेको छ । तर, अहिलेसम्म एफएले यो विषयमा ठोस् कदम चालेको छैन ।