काठमाडौं । नेपालले यू-१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा भारतको 'भारत एल्लो' टिमलाई जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ ।
हैदरावादस्थित जिमखाना मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १४ रन बनाउन सक्यो ।
नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए । यस्तै शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान २/२ विकेट लिए ।
सिरिजमा नेपालसहित भारतको तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा भारतको टिमलाई भारत 'ब्लु', भारत 'रेड' र भारत 'एल्लो' नाम दिईएको छ ।
दोस्रो खेलमा नेपालले बुधबार भारत 'रेड' र अन्तिम खेलमा शुक्रबार नेपालले भारत 'ब्लु' सँग खेल्नेछ ।
लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।