एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
सिंगापुरमा सोमबार बेलुका भएको खेलमा फ्रेन्च लिग च्याम्पियन पिएसजीले एट्लेटिकोलाई ३ – २ ले हराएको हो । पिएसजीको जितमा क्रिष्टोफर एकुनकु, मौसा डियाबी र भिर्जीलिउ पोष्टालाचीले एक एक गोल गरे । एट्लेटिकोका भिक्टोर मोल्लेजोले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । पिएसजीका एन्टोनी बेर्नेडेले आत्मघाती गोल गरेका थिए ।
पहिलो हाफको ३२ औं मिनेटमा एकुनकुले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा डियाबीले गोल गर्दै पिएसजीलाई २ – ० को अग्रता दिलाए । तर, खेलको ७५ औं मिनेटमा एट्लेटिकोका मोल्लेजोले गोल गर्दै खेल २ – १ मा ल्याए । खेलको ८६ औं मिनेटमा पिएसजीका बेर्नेडेले आत्मघाती गोल गरेपछि खेल २ – २ को बराबरीमा पुग्यो ।
खेलको निर्धारित समय सकिन केहि समय बाँकी रहदा पिएसजीका पोष्टालाची दृश्यमा आए । र, खेलको इन्जुरी समयमा गोल गर्दै पोष्टालाचीले पिएसजीलाई ३ – २ को संघर्षपूर्ण जित दिलाए । अन्तिम समयमा पोष्टालाचीले गोल नगरेको भए खेल पेनाल्टी सुटआउटमा धलेकिने थियो ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न पिएसजी र एट्लेटिको सिंगापुरमा रहेका छन् । यसअघि पिएसजीले आर्सनललाई ५ – १ ले हराएको थियो ।