काठमाडौं । दोस्रो संस्करणको हिमालय क्रिकेट लिग (एचसीएल) दुई दिवसीय यू-१९ किकेट प्रतियोगिता आगामी पुस तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस १९ गतेबाट माघ ४ गते सम्म आयोजना हुने जनाएको छ ।
दुई दिवसीय ढाँचामा आयोजना हुने प्रतियोगितामा देश भरका ६ क्लब र एकेडेमीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ क्लब काठमाडौं भ्याली र दुई टिम काठमाडौं भ्याली बाहिरको रहने छ ।
सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिने छ । समूहको शीर्ष टोलीले उपाधिका लागि खेल्ने छन् ।
मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा सेतो ड्रेस र रातो बाल प्रयोग हुने आयोजकका अध्यक्ष सुदिप शर्माले जानकारी गराए ।
कुल ५० लाख लागतमा आयोजना हुने प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउने छन् । तर, आयोजकले पुरस्कार रकम भने पछि तय गरिने जनाएको छ ।
१९ वर्ष मुनिका खेलाडीलाई लामो फर्म्याटको क्रिकेट अनुभव प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
यसअघि आयोजकले पहिलो संस्करणको प्रतियोगिता भने एकदिवसीय ढाँचामा गरेको थियो ।