एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले विश्वकप विजेता फ्रान्सका मिडफिल्डर थोमस लेमारलाई क्लबमा भित्र्याएको छ । युवा मिडफिल्डर लेमारलाई सोमबार एट्लेटिकोले सार्वजनिक गरेको छ ।
एट्लेटिकोले लेमारलाई फ्रेन्च क्लब मोनाकोबाट ५२ मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गरेको हो । लेमारले सोमबार एट्लेटिकोसंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेका छन् । २२ बर्षे लेमार विश्वकप अघि नै एट्लेटिको आउन सहमत भएका थिए । सम्झौतासंगै लेमारले एट्लेटिकोमा ११ नम्बरको जर्सी लगाउने छन् ।
एट्लेटिकोसंग सम्झौता गरेपछि लेमारले क्लबको लागि आफुले सक्ने योगदान दिने बताए । लेमारले भने, 'म यहाँ हुँदा धेरै खुसी छु । मलाई एन्टोनी र लुकासले क्लबबारे धेरै बतायो । त्यसैले यहाँ आउने निर्णय गरे । मलाई थाहा छ टिमले कडा मेहेनत चाहन्छ । र, म उनीहरुको लागि सबै थोक दिने छु ।'
एट्लेटिकोले फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रीजम्यान र डिफेन्डर लुकास हर्नान्डेजसंग विश्वकप अघि नै सम्झौतामा नवीकरण गरेको थियो । ग्रीजम्यान र हर्नान्डेजसंग नवीकरण गर्दा एट्लेटिकोले लेमारसंग पनि सम्झौता पक्का गरेको थियो ।
लेमारले फ्रान्सविश्वकपमा एक खेल खेलेका थिए । लेमार समूह चरणको अन्तिम खेलमा नर्वेविरुद्ध मैदान उत्रिएका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सन् २०१५ मा मोनाको आएका लेमारले १२७ खेलमा २२ गोल गरेका थिए । उनले ३२ गोलको लागि पास उपलब्ध गराएका थिए । मोनाकोले सन् २०१६/१७ को सिजन फ्रेन्च लिग वनको उपाधि जित्दा लेमार महत्वपूर्ण खेलाडी थिए ।